मिति २०८३ असोज १७ गते चण्डेश्वरी साकोसको ३४औं वार्षिक साधारण सभा तथा अधिवेशन संस्थाका अध्यक्ष श्री नविनभक्त बादे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ।
सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। आ.व. २०८२/८३ को वार्षिक लेखापरीक्षण प्रतिवेदनका आधारमा शेयर सदस्यहरूलाई ७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णयसमेत सर्वसम्मत रूपमा पारित गरिएको छ।
सभाका अवसरमा वर्षभरि संस्थासँग गरिएको बचत तथा ऋण कारोबारका आधारमा ५ जना उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी, संस्थाका संस्थापक अध्यक्ष स्व. ज्योतिप्रकाश सैंजु स्मृति कोष अन्तर्गतको एसईई छात्रवृत्ति कार्यक्रमबाट ४ जना विद्यार्थीलाई जनही रु. १०,००० बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो भने संस्थाका २९ जना बाल बचतकर्तालाई एसईई सम्मान प्रदान गरिएको थियो।
आ.व. २०८२/८३ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा संस्थामा कनिष्ठ कार्यालय सहायक पदमा कार्यरत कर्मचारी श्री अञ्जना कुइकेललाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो। उत्कृष्ट कर्मचारीलाई चाँदीको पदक तथा थप एक ग्रेड प्रदान गरी प्रोत्साहन गरिएको थियो।
सभाको कार्यक्रम सञ्चालन संस्थाका सचिव श्री बुद्धरत्न मानन्धरले गर्नुभएको थियो।
साधारण सभासंगै सम्पन्न निर्वाचन कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक श्री इन्द्रनारायण भैलले श्री बुद्धरत्न मानन्धरको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा श्री रोशना राजवंशीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नुभएको थियो। नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई तत्पश्चात गोपनीयताको शपथ ग्रहण गराइएको थियो भने नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई कार्यक्रमका सभाध्यक्ष श्री नविनभक्त बादे श्रेष्ठले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष श्री बुद्धरत्न मानन्धरले आफ्नो कार्यकालमा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै संस्थाका संस्थापक, पूर्व सञ्चालक समिति तथा उपसमितिका सदस्यहरू, सल्लाहकारहरू र पूर्व कर्मचारीहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालको पहिलो निर्णयका रूपमा वर्षमा एकपटक संस्थाका संस्थापक, पूर्व समिति तथा उपसमितिका सदस्य, सल्लाहकार र पूर्व कर्मचारीहरूको भेटघाट कार्यक्रम आयोजना गर्ने जानकारीसमेत गराउनुभयो।
सभामा संस्थाका ६५ प्रतिशतभन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो। सहभागितापूर्ण वातावरणमा सम्पन्न ३४औं वार्षिक साधारण सभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा, सुशासन, सदस्य हित तथा संस्थागत विकासका लागि थप ऊर्जा प्रदान गरेको छ।
